- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
धर्म र हेभेन्ली पाथमा फरक 1
धर्म र हेभेन्ली पाथमा फरक 1
Written by साभार स्वर्गिक सन्देश
सुप्रिम मास्टर गडएञ्जलज्यूले हेभेन्ली पाथ धर्म होइन भनेर पटकपटक व्याख्या गर्नु भए पनि यसप्रतिको आम बुझाइ धर्मभन्दा माथिको हुन सकेको छैन । स्वर्गयात्रामा प्रवेश नगरेकाहरूमा त्यस्तो बुझाई हुनु अस्वाभाविक होइन तर कतिपय स्वर्गयात्रीहरूमै त्यस्तो बुझाई हुनु चाहिँ दर्शनको बुझाइमा गम्भीरता नहुनु हो । अझ कतिपय प्रचारकहरूले हेभेन्ली पाथको प्रचार गर्ने क्रममा यसलाई धर्मको रुपमा प्रचार गर्नु अत्यन्त दुःखदायक कुरो हो । दर्शन बुझाइमा देखिएको यो समस्याको चाँडै निरुपण हुन नसके यसले हेभेन्ली पाथले आफ्नो गन्तव्य भेट्टाउन गार्हो पर्नेछ ।
हेभेन्ली पाथ धर्म होइन भनेर प्रचार गर्नेहरूमै पनि हेभेन्ली पाथ के कारणले धर्म होइन र यो कुन कुन विन्दुमा धर्म भन्दा फरक छ भन्ने कुरामा स्पष्ट छन् भन्न सकिने अवस्था छैन । परम गुरुज्यूबाट स्वर्गीय सन्देश सुनेर स्वीकारोक्तिमा मुन्टो हल्लाउनुबाहेक दर्शनको यो महत्त्वपूर्ण पक्षमा आजसम्म स्वर्गयात्रीहरूबीच आधिकारिक चर्चा–परिचर्चा हुन सकेको छैन र यसबारे कतै प्राज्ञिक बहस एवम् तर्क–वितर्क पनि भएको छैन । यही कारण पनि यो पक्ष आजसम्म अमूर्त नै रहँदै आएको छ । चित्त बुझाउने एउटै मात्र ठाउँ कहाँनेर छ भने आज युगौंअघिदेखिका धर्महरूको बुझाइमा त भ्रम बाँकी छ भने भर्खर स्थापित भई विस्तारको क्रममा रहेको हेभेन्ली पाथको बुझाइ अहिले नै स्पष्ट नहुनु अनौठो होइन । यो बिल्कुल नौलो मोक्षमार्ग भएकोले यसलाई बुझाउने कुनै दृष्टान्त पनि उपलब्ध छैन र केवल सैद्धान्तिक व्याख्याका आधारमा यसलाई जनमानसमा प्रष्ट र ठोस रूपमा उभ्याउन गाह्रो छ । यो लेख हेभेन्ली पाथलाई धर्मको बुझाइबाट मुक्त गर्ने प्रारम्भिक कदम हुन सक्नेछ भन्ने अपेक्षा गरिन्छ । र यो लेख धर्म, अध्यात्म र दर्शनका ज्ञाताहरूलाई बहसको प्रस्थानबिन्दु बन्न सक्नेछ भन्ने अपेक्षासमेत गरिन्छ ।
हेभेन्ली पाथ किन धर्म होइन ?
परम्परागत बुझाइअनुसार धर्म भनेको कुनै विशिष्ट संस्कार र संस्कृति भएको खास सम्प्रदाय हो । धर्मका मूल्य र मान्यताहरू धर्मशास्त्रहरूले निर्देशित गरेअनुसार हुन्छ । हिन्दू समाजका मूल्य मान्यताहरू वेद, संहिता, पुराण, उपनिषद र स्मृतिहरूद्वारा निर्देशित छन् भने इस्लाम समाज कुरानद्वारा निर्देशित हुन्छ । त्यसै गरी क्रिश्चियन समाज बाइबलद्वारा निर्देशित छ भने बुद्धिस्टहरू त्रिपिटकबाट । संस्कार–संस्कृतिको विशिष्टता र मूल्य मान्यताहरूमा शास्त्रीय प्रभावका दृष्टिले धर्म र हेभेन्ली पाथमा थुप्रै समानता पाइन्छन् । तर यो समानता, रुपगत समानता मात्र हो, तात्त्विक दृष्टिले यी दुईमा ठूलो भिन्नता पाइन्छ । हेभेन्ली पाथले प्रचलनमा ल्याएको संस्कारमा अन्धविश्वासलाई कुनै ठाउँ छैन । यसको शास्त्र निशुई कथा र दन्त्यकथाहरूको दस्तावेज नभई प्रार्थनाको शास्त्र भएको हुनाले यसले निर्देशित गर्ने मूल्य मान्यताहरू निश्चित रुपमा सत्यता, शाश्वतता र सनातनतामा आधारित छन् । यसले परम प्रभुको उपासकलाई नचाहिँदा आडम्बर र कर्मकाण्डहरूमा अल्मलाउँदैन बरु सिधै मोक्षको द्वारतिर मुखरित गर्छ ।
कतिपय धर्महरूमा संस्कारलाई मानिसभन्दा माथि राखिएको पाइन्छ अर्थात् संस्कारका लागि मानिस भन्ने धारणाले प्रमुखता पाएको हुन्छ । त्यसै कारण त्यसभित्र पुरोहितद्वारा आर्थिक शोषण हुनुका साथै नचाहिँदा अन्धविश्वास र आडम्बरहरूले विकसित संरक्षण पाउँदछ । तर हेभेन्ली पाथमा मानिसका लागि संस्कार भन्ने मान्यता अनुसार संस्कारलाई साध्य होइन साधनको रूपमा अभ्यास गरिन्छ । त्यही कारण यसभित्र आर्थिक शोषण हुने सम्भावना रहँदैन । अन्धविश्वास र आडम्बरका लागि त यसभित्र कतै ठाउँ नै रहेको छैन ।
कट्टरता धर्महरूको विशेषता हो र एकप्रकारले धर्महरूको मुख्य धर्म नै कट्टरता हो । धार्मिक पण्डितहरूले आ– आफ्नो धर्मलाई उदार भने पनि सबै धर्मभित्र कुनै न कुनै रूपको कट्टरता फेला पर्दछ । कुनै धर्ममा त शास्त्रमा लेखिएभन्दा एउटा रेफ तलमाथि भए पनि सहन गरिँदैन । तर हेभेन्ली पाथ चाहिँ सत्यता र आत्मिक मोक्षको मार्गमा अवरोध नपुग्ने शर्तमा कहिल्यै पनि विचारको बन्दी छैन र यो सधैं वैचारिक उदारतामा विश्वास राख्छ । धार्मिक कट्टरताकै कारण अहिले विश्वमा जताततै धार्मिक एवम् साम्प्रदायिक हिंसा भड्किरहेका छन् । त्यसको अन्त्यका लागि हेभेन्ली पाथ सबैलाई प्रेमको सन्देश सुनाउँदै सुध्रिन आग्रह गर्छ । धर्महरूलाई कर्मकाण्ड होइन धार्मिकताको जगेर्ना गर्न अनुरोध गर्दछ ।
धर्माधिकारीहरू र धर्म–संरक्षकहरू विज्ञानको विरोध गरेर मात्रै धर्मको अस्तित्व रहनसक्ने कमजोर मानसिकताबाट ग्रसित छन् । उनीहरू सधैं धर्मलाई विज्ञानको प्रतिद्वन्द्वीको रूपमा उभ्याउने प्रयास गर्छन् र सधैं पराजित हुने गर्छन् । तर हेभेन्ली पाथका प्रमुख अभियन्ता परम गुरुज्यू हरेक कुरा विज्ञानसम्मत हुनुपर्छ भन्नुहुन्छ । विज्ञानद्वारा सिद्ध नहुने दर्शन असफल हुने उहाँको धारणा छ । यही धारणाअनुसार उहाँले हेभेन्ली पाथको दर्शन प्रतिपादन गर्नुभएको छ । उहाँले आविष्कार गर्नुभएको आमश उपचार विधि र प्रचलनमा ल्याउनुभएको संस्कार विधि एकदमै विज्ञानसम्मत रहेको छ ।
धर्महरूको अर्को विशेषता विभेद हो । यो विशेषता धेरथोर सबै धर्महरूमा पाइन्छ । त्यस्तो विभेद जाति, लिङ्ग, वर्ण, पेशा, राष्ट्रियता आदि विभिन्न आधारमा हुने गर्छ । तर हेभेन्ली पाथको दर्शनमा कुनै किसिमको विभेदको अस्तित्व रहेको छैन । परिवेश एवम् परम्परागतको सोचको प्रभावका कारण यसभित्र समानताको अभ्यासमा केही समस्याहरू देखिएको भए पनि भविष्यमा यसले निश्चित रूपमा सकारात्मक परिणाम ल्याउनेछ ।
धर्म र हेभेन्ली पाथबीच प्रस्तुत गरिएका भिन्नताका यी बुँदाहरू पूर्ण छैनन् । अलि गम्भीर विश्लेषण गर्ने हो भने यी दुईमा अन्य थुप्रै भिन्नताहरू पनि देखा पर्नेछन् । हेभेन्ली पाथको दर्शन विकसित हुँदै जाँदा यसमा अरु थुप्रै भिन्नताहरू पनि थपिने निश्चित छ । यसको दर्शन नयाँ भएकोले यो व्यवहारको कसीमा घोटिन बाँकी नै छ । भविष्यमा यसको अन्तिम स्वरूप कुन रूपको हुनेछ भनेर अहिले नै किटान गर्न सकिने स्थिति छैन । के कुरो चाहिँ निश्चित छ भने भविष्यमा यसको स्वरूप जे जस्तो भए पनि यसले पहिल्याएको गन्तव्य भने हराउने छैन बरु अझ निकट र सहज हुनेछ ।