दुःख र सुखको कुनै रूप छैन 2

दुःख र सुखको कुनै रूप छैन 2

 

चेतनाको कारणले पनि त मान्छेले दुःख पाउँछ नि, होइन र ?

–ठीक भन्नु भो । जोसँग जति बढी चेतना हुन्छ, उसले त्यति नै बढी विसंगति र अव्यवस्थितिहरू देख्न सक्छ, जसले उसलाई दुःख दिनसक्छ । तर स्थितिबोध वा सत्यबोधले चेतनशील मानिसलाई दुःख अनुभूत गराउँदैन बरू अझ जिम्मेवार र सजग बनाउँछ ।

 

त्यसो भए चेतनाको कारण उत्पन्न दुःख र चेतनाहीनताबाट उत्पन्न दुःखमध्ये कुनचाहिँ बढी पीडादायी हुन्छ ?

–सत्यबोधी हुनुलाई दुःख मान्ने हो भने चेतनाबाट उत्पन्न दुःख बढी पीडादायी हुन्छ । नेताहरूले बोध गर्ने दुःखभन्दा विद्वान्हरूलाई हुने दुःखबोध अवश्य पनि बढी पीडादायी हुन्छ । विद्वान्हरूको दुःखभन्दा दार्शनिकहरूको दुःख अझ चर्को हुनसक्छ । बुद्धले त दुःखसम्बन्धी दर्शन नै दिए । जीवन–जगत्प्रति जो बढी चिन्तनशील एवम् संवेदनशील हुन्छ, उसलाई हुने दुःखबोध पनि सोहीअनुसार तीब्र हुन्छ । तर दुःखलाई कसले कुन रूपमा लिन्छ भन्ने कुरामा त्यसको प्रभाव निर्भर हुन्छ । चेतनशील मानिसहरू दुःखको जरोसम्म पुग्न सक्छन् र त्यसलाई किनारा लगाउन सफल हुन्छन् भने चेतनाहीन मानिसहरू त्यसो गर्न सक्दैनन् अनि दुःखको झन् गहिरो भासमा पर्दछन् । त्यसबाट उम्कने असफल प्रयत्न गर्दागर्दै उनीहरू मृत्युको मुखमा पुग्छन् । यसरी झट्ट हेर्दा चेतनाबाट उत्पन्न दुःख बढी पीडादायी देखिए पनि परिणामका दृष्टिले चेतनाहीनताबाट उत्पन्न हुने दुःख बढी पीडादायी हुन्छ ।

 

दुःखबाट मुक्त हुने सबैभन्दा सजिलो उपाय के होला ?

–परिस्थितिहरूलाई वस्तुगत रूपमा बुझ्नुहोस् तर त्यसबाट शासित नहुनुहोस् । मानौं, यो कुर्सी फाटेको छ, भाँचिएको छ । त्यो देखेर तपाईं दुःखी नहुनुहोस् । भाँचिने चीज भाँचियो । यो सामान्य कुरा हो,यसमा दुःखी हुनुपर्ने के कुरो छ ? तपाईं दुःखी भएर त्यो कुर्सी नयाँ हुन्छ त ? यसरी हेर्नु भयो भने तपाईं दुःखबाट मुक्त हुनुहुनेछ । दुःखबाट मुक्त हुने अरू त उपाय नै छैन । समस्यालाई दुःखको पाटोबाट हेरेर त्यसभित्र गहिरिनु भयो भने तपाईं दुःखको भुमरीमा पर्नुहुन्छ र त्यसबाट तपाईं सायदै उम्कन सक्नुहुन्छ । हरेक कुराको गहिराइभित्र जाँदा रहस्यमै पुगिन्छ र त्यो रहस्यलाई हाम्रो मष्तिस्कले छिचोल्न सक्तैन, अनि त्यसले हामीलाई झन् ठूलो दुःख दिन्छ । त्यसैले त म भन्दछु–ईश्वर स्वयम् रहस्य हुनुहुन्छ । जीवन पनि त्यस्तै रहस्यमय छ । मेरो हातमा यो एउटा पेन छ र यो सुन्दर पनि छ । जब म यसलाई खोल्छु, रहस्यहरू देखा पर्न थाल्छन् । यो पेन मेसिनबाट बनाइयो होला कि कसरी बनायो होला ? लौ हेर, यहाँनिर त यस्तो पो रहेछ । यहाँ रबर रहेछ । यहाँनिर मसी हाल्ने पाइप रहेछ । यसरी हामी कुनै कुराको जति गहिराइमा पस्छौं, त्यति नै हामी अनन्त रहस्यहरूद्वारा पुरिँदै जान्छौं । जब यसरी हामी रहस्यको गुजुल्टोभित्र पर्छौं, हामीले पहिले सुन्दर देखिरहेको वस्तु पनि कुरूप देखिन थाल्छ । अनि त्यो कुरूपताले निश्चय पनि हामीलाई दुःख दिन्छ नै । यस कारण दुःखबाट मुक्ति चाहनुहुन्छ भने तपाईं हरेक कुरामा आनन्द खोज्नुहोस्, रहस्य र दुःख होइन । कुनै कुरा जस्तो छ, त्यसलाई त्यही रूपमा हेर्नुहोस् । त्यसलाई कोट्याउन थाल्नुभयो भने त्यसको रूपमा विचलन आउँछ र त्यसले तपाईंलाई पनि विचलित तुल्याउँछ । बस्, दुःखबाट मुक्त हुने सहज उपाय यही हो र यसैबाट तपाईंले आनन्द पनि प्राप्त गर्नुहुनेछ ।

 

तर बिग्रेको, भत्केको हेरेर आनन्द खोज्नु त अकर्मण्यता होइन र ?

–होइन । त्यसलाई अकर्मण्यता भन्न मिल्दैन । चौतर्फी बिग्रेको, भत्केको मात्र देख्नु अनि त्यसलाई बनाउने, सुधार्ने कुनै प्रयत्न गर्नुको सट्टा दुःखी मात्र भएर बस्नु चाहिँ अकर्मण्यता हो । अव्यवस्थिति र विसंगति देख्ने आँखाले पक्कै पनि त्यसलाई व्यवस्थित र सुसंगत बनाउने आवश्यकता देख्छ । तपाईंले आफूलाई कर्मठ र चेतनशील सिद्ध गर्ने ठाउँ पनि त त्यही हो । एक प्रकारले तपाईंको अस्तित्वको औैचित्य पनि त्यस्तै बिग्रेभत्केका ठाउँहरूले नै सिद्ध गरिरहेको हुन्छ । मैले भन्न खोजेको के हो भने जब तपाईं कुनै कुरो बिग्रको देख्नुहुन्छ, त्यसलाई सहज रूपमा लिनुहोस् अनि त्यसलाई बनाउने काममा आनन्दपूर्वक लाग्नुहोस् । अब तपाईं नै भन्नुहोस्, यसो गर्नु अकर्मण्यता हो त ?