- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
दुःख र सुखको कुनै रूप छैन 1
दुःख र सुखको कुनै रूप छैन 1
Written by साभार स्वर्गिक सन्देश
गुरु हजुर ! मान्छेले भोग्नु पर्ने दुःखको कारण क्षमताको अभाव हो कि इन्द्रीय तृष्णाहरू हुन् ?
–सबभन्दा पहिले दुःख र सुख केलाई भन्ने ? यसबारे स्पष्ट हुनु आवश्यक छ । मानौं, एकजना मान्छे दुर्घटनामा परेर लङ्गडो भयो । लङ्गडो भएको कारण ऊ दुःखी हुन्छ– ओहो ! म लङ्गडो भएँ, अब म पहिले जस्तो हिँड्न सक्दिन । मेरो जीवन कष्टपूर्ण हुने भो । अब जीवनभरि अरूको तिरस्कार सहेर बाँच्नुपर्ला । यसरी लङ्गडो भएर बाँच्नुभन्दा त मरिजान पाएको भए जाती हुन्थ्यो । यस प्रकार ऊ आफ्नो स्थितिप्रति दुःख प्रकट गर्छ, बाँकी जीवनप्रति चिन्तित हुन्छ । तर आर्को लङ्गडो जो जन्मजात लङ्गडो छ, ऊ खुशी नै देखिन्छ । आफ्नो जीवनप्रति उसमा कुनै गुनासो छैन । ऊ सोच्तछ– ‘मेरो त एउटा खुट्टा त लङ्गडो छ नि । एउटा खुट्टाले काम नगरेर के भो र ? कतिको त दुवै खुट्टा छैनन् । अझ कतिको दुवै आँखा छैनन् । उनीहरूभन्दा त मेरो जीवन धेरै सहज छ । यसरी समान अवस्थामा दुईजना लङ्गडोको फरक सोचाइ छ, भिन्न अनुभव छ । एकजना त्यही कुरामा दुःखी छ । आर्को त्यही कुरामा सुखी छ । यसकारण दुःख र सुखको अर्थ निश्चित छैन । यी अमूर्त कुराहरू हुन् । यही दुःख हो अथवा सुख हो भनेर ठोकुवा गर्न सकिन्न । व्यक्ति, चेतनाको स्तर, मानसिक अवस्थाअनुसार दुःख र सुखका अर्थहरू फरकफरक हुन्छन् । दुःख र सुखको अर्थ कुनै कुरा कसैले कुन रूपमा ग्रहण गरेको छ, त्यसैले निर्धारित गर्दछ । त्यसलाई महसुस गर्दा सकारात्मक वा नकारात्मक कुन पक्षलाई प्रमुखता दिन्छ, त्यसले दुःख वा सुखको अनुभूति गराउँछ । दुःखको कुनै रूप छैन, न त सुखको नै छ । कुनै गरीब मान्छे जो आफ्नो परिवारको लालनपालन राम्रोसँग गर्न असमर्थ छ, ऊ असमर्थताप्रति अत्यन्त दुःखी हुन्छ । यदि उसको परिवारको कुनै सदस्यको मृत्यु भएमा ऊ झन् दुःखी हुन्छ । दुःखको निश्चित रूप हुने भए त ऊ कि त दुःखजिलो गरेर बाँचे पनि परिवारका सबै सदस्य जीवित रहेकोमा दुःखी नहुनु पर्ने थियो, या त परिवारको एक सदस्यको मृत्यु हुँदा आफूले लालनपालन गर्नुपर्ने मान्छेमध्ये एकजना कम भएकोमा सुखी हुनुपर्थ्यो । तर त्यस्तो हुँदैन । दुवै अवस्थामा ऊ दुःखी छ । यहाँसम्म कि मृत्युजस्तो शाश्वत सत्यलाई पनि उसले सहज रूपमा लिन सकेको देखिँदैन । जन्मेकाहरू सबैले एकदिन मर्नैपर्छ भन्ने अकाट्य सत्यलाई पनि किन दुःखको रूपमा लिने? तपाईंको जिज्ञासाको समाधान यसैबाट हुन्छ । अर्थात्, अक्षमता वा इन्द्रीय तृष्णाहरू आफैमा दुःखका कारणहरू होइनन । तिनले परिस्थितिहरूको सृजना गर्नमा चाहिँ अवश्य पनि महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् तर ती स्वयम् दुःखका कारण बनेर तेर्सिंदैनन् । सृजित परिस्थितिलाई कसले कसरी लिन्छ, त्यसैले सुख वा दुःखलाई जन्म दिन्छ ।
हजुरको विचारमा सामान्य मान्छेले वास्तविक दुःख र वास्तविक सुख चिन्दैनन ?
–हो, साँच्ची नै चिन्दैनन् । मान्छेहरू सुख वा दुःखको कारण सधैं आफूबाहिर मात्रै खोज्छन् । दुःख–सुखको कारण मात्रै होइन, दुःखको निदान र सुखको स्थायित्व पनि बाहिर नै खोज्छन् । समस्या र समाधान एकातिर अनि खोजाइ अर्कोतिर । कति व्यर्थ प्रयास ! यस्तो असार्थक खोजाइले कुनै टुङ्गोमा पुर्याउँदैन । त्यसै कारण उनीहरू जीवनभर दुःखी हुन्छन् । आफूबाहिर त परिस्थितिहरू मात्रै हुन्छन् भन्ने कुरा नबुझेर उनीहरू गलत दिशामा भौंतारिरहेका हुन्छन् । समस्या र समाधान आफूभित्रै छ भन्ने थाहा पाउनसके जीवनमा आनन्दैआनन्द छ । दुःखमा पनि आनन्द छ । आफूभित्र नियाल्न जान्नुपर्छ ।
दुःखको कारण अज्ञानता वा नकारात्मक मनस्थिति मात्रै हो त ? कतिपय अवस्थामा त परिवेशले पनि त मान्छेलाई दुःख दिइरहेको हुन्छ नि ? जस्तै, अहिले देशको राजनीतिक परिवेशको कारण धेरै मानिसहरूले दुःख पाइरहेका छन् ।
–मानिस सामाजिक प्राणी भएकाले सामाजिक परिवेश पनि निश्चित रूपमा दुःखको कारण बन्छ । खराब समाज छ भने त्यसले असल मानिसलाई पनि दुःख दिन्छ । तर सामाजिक परिवेशबाट उत्पन्न दुःख खालि भौतिक दुःख हो र परिवशेलाई दुःखको कारण मान्नु पनि भौतिक दृष्टिकोण हो । म यहाँ आध्यात्मिक दुःखको चर्चा गर्दैछु । आध्यात्मिक दृष्टिले हेर्दा मान्छे स्वयम्ले आफूलाई दुःख दिइरहेको हुन्छ । सामाजिक परिवेशबाट प्राप्त हुने दुःखमा पनि व्यक्तिगत कारण हुँदैन भन्न सकिन्न,किनभने मान्छेले परिवेशलाई जुन रूपमा लिन्छ, सोहीअनुरूप उसले दुःख अनुभूत गर्छ । परिवेश जस्तोसुकै होस्, त्यसलाई सहज र सामान्य रूपमा लिनसके त्यसबाट दुःख उत्पन्न हुँदै हुँदैन । अर्को कुरा, दुःखदायी परिवेशको निर्माण पनि त व्यक्तिगत अज्ञानता र नकारात्मक मनस्थितिहरूले नै गरेका हुन्छन् किनभने समाज पनि यस्तो मान्छेहरूको समूहले बनेको हुन्छ, जो समस्या र समाधान आफूबाहिर नै खोज्छ । त्यस्ता मानिसहरू आफ्नो दुःखको कारण अन्य व्यक्ति, वर्ग वा सम्प्रदायलाई देख्छन् अनि त्यसको निराकरणको निम्ति मुठभेडमा उत्रन्छन् । नेपालमा विद्यमान राजनीतिक समस्यालाई पनि यही कोणबाट हेर्न सकिन्छ । यहाँ पनि के कुरा लागू हुन्छ भने परिवेश त केवल परिस्थिति मात्र हो, जसको निर्माणमा मानिसहरूको भूमिका हुन्छ, अनि ती मानिसहरू दुःखको वास्तविक कारण र समाधानको उपायबारे भ्रमित छन् । प्राकृतिक वातावरणबाट उत्पन्न हुने दुःखमा पनि सोही कुरा लागू हुन्छ । पहाडमा बस्नु अनि पहिरोले घर–खेत लगिदियो भनेर दुःख मान्नु कहाँसम्मको अज्ञानता ! पहाडमा पहिरो गइरहने गर्छ भन्ने पनि थाहा छ, साथमा दुःख पनि मानेकै छ । तराईमा बाढी आउँछ भन्ने पनि थाहा छ, साथमा बाढी आएकोमा दुःखी पनि भएकै छ । समुद्रको किनारामा बसोबास गर्नेहरूलाई समुद्रमा यदाकदा समुद्री आँधी आउने कुरा थाहा हुँदैन र ? पक्कै हुन्छ । तर त्यो कुरा जानीजानी उनीहरू त्यो ठाउँ छाड्दैनन् अनि आँधी आएर सबै बढारेर लगेकोमा अपार दुःख पनि व्यक्त गर्छन् । अब तपाईं आफै छुट्याउनुहोस्, दुःख उत्पन्न हुनुमा बाह्य परिवेश दोषी छ कि मानिस स्वयम् ? मैले अघि नै भनें, उपलब्ध परिस्थितिलाई मानिसले कसरी ग्रहण गर्छ, दुःख त्यसैबाट उत्पन्न हुन्छ । सहज र सकारात्मक रूपमा लिए कुनै पनि परिस्थिति दुःखदायी हुँदैन । दुःखबोध एकदमै वैयक्तिक कुरा हो ।