- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
गुरुहजुरसँग को सङ्गत 3
गुरुहजुरसँग को सङ्गत 3
विज्ञानका कुरा
प्रभुको महिमा गाउने अनि स्वर्गको चर्चा गर्ने गुरुहजुर कहिलेकाहीं विज्ञानका कुरा पनि गर्नुहुन्छ । उहाँको विचारमा तर्क र दर्शन विज्ञानको कसीमा फेल हुनुहुँदैन । धर्मगुरुहरूले अवैज्ञानिक तर्कमा ढिपी गरेकैले संसारमा नास्तिकता बढेको हो । विज्ञान पनि प्रभुकै देन भएकोले यसको निन्दा गर्नु आवश्यक छैन। विज्ञानको आफ्नै क्षेत्र छ, अध्यात्मको आफ्नै । एकले अर्काको आलोचना गरेर आफ्नो पक्षलाई सत्य सावित गर्ने प्रयत्न गर्नु अधिकारबाहिरको कुरा हो । त्यसले कहिल्यै पनि मान्छेको भलो गर्दैन । विज्ञानप्रतिको उहाँको यो धारणा साँच्चिकै मननीय छ । विज्ञानप्रतिको उहाँको यो सन्तुलित धारणा नै हेभेन्ली पाथको दार्शनिक सन्तुलनको मुहान हो । हुन पनि आजसम्म एकाङ्गी विचारले कहिले पो सफलता पाएको छ र ? एकाङ्गी विचार त आफ्नो अस्तित्व प्रदर्शन गर्नका लागि ल्याइन्छ । तर सन्तुलित विचार भने जिम्मेवारीपूर्ण हुन्छ । यस्तो विचारमा सबैको अस्तित्वमाथि ध्यान दिइएको हुन्छ । हेभेन्ली पाथको दर्शन पनि त्यस्तै विचारबाट जन्मेको छ । कारण, यो स्वयम् प्रभुको विचार हो । मानिसले बनाएको दर्शन त कुनै न कुनै पक्षमा एकाङ्गी भएकै हुन्छ । तर प्रभुसँग कुनै स्वार्थ छैन । प्रभुको यो विचार कार्यान्वयन गर्ने अभियानको अगुवाइ चाहिँ गुरुहजुरले गरिरहनुभएको छ । त्यसैले त उहाँ पनि सबै किसिमको वैचारिक आग्रहबाट मुक्त हुनुहुन्छ । उहाँ यात्रीहरूलाई सम्झाइरहनुहुन्छ– ‘सत्य कुरा जहिले पनि जहाँ पनि सत्य नै हुन्छ ।’
हेभेन्ली पाथको भविष्यको कुरा
अबको दश वर्षमा हेभेन्ली पाथको अवस्था यस्तो हुनेछ भन्ने सुन्दर खाका देखाएर गुरुहजुर हामीलाई हौस्याइरहनुहुन्छ । तर उहाँको हौस्याइ नेताको जस्तो झूटो हुँदैन । उहाँमा बोलेको कुरा पुर्याउने बानी छ र पुर्याई पनि रहनुभएको छ । आजभन्दा पाँच–सात वर्ष अघि उहाँले बोल्नुभएको कुरा अहिले पुगेको पुराना यात्रीहरूको अनुभव छ । झट्ट सुन्दा चाहिँ उहाँको कुरा सपनाको खीर जस्तो एकदमै महत्त्ववाकांक्षी लाग्छ । नयाँ यात्रीहरूले त उहाँलाई गफाडी गुरु भन्नसमेत बेर छैन । तर, उहाँको जस्तै समर्पण, खटाइ–डटाइ र जिम्मेवारीबोध सबै यात्रीमा भए उहाँले बोलेका कुराहरू सहजै पूरा हुनेछन् ।
हेभेन्ली पाथको भविष्यको आवधिक चित्र देखाएर यात्रीहरूलाई हौस्याउनु उहाँको प्रत्यक्ष उद्देश्य हो तर यसो गर्नुको अप्रत्यक्ष उद्देश्य थुप्रै छन् । उहाँलाई थाहा छ– यात्रीहरू आफू जतिकै जिम्मेवारीबोध गरेर यात्रा गरिरहेका छैनन् र उनीहरूलाई गन्तव्यसम्मको बाटो र दूरी पनि थाहा छैन । उहाँले बताउनुभएको विवरणकै भरमा उनीहरू यात्रा गरिरहेका छन् । यस्तो यात्रामा यात्राका अगुवाको जिम्मा के हुनुपर्छ भन्ने उहाँलाई राम्ररी थाहा छ । अब यति हिँडेपछि यस्तो ठाउँ आउँछ भनिदिँदा यात्रीहरूमा सेलाउँदै गएको जाँगर फेरि तातिन्छ र बढ्दै गएको थकान कम हुन्छ । यसो गर्दा बाटो केही छोटिएजस्तो आभास हुन्छ । यही प्रयोजनका लागि उहाँ यात्रीहरूमाझ हेभेन्ली पाथको आवधिक भविष्यको नक्सा देखाउनुहुन्छ । अर्थात्, उहाँ गन्तव्यसम्म तय गर्नुपर्ने दूरीलाई टुक्राटुक्रा गरेर यात्रीहरूलाई निरन्तर हिँडाइरहनुहुन्छ । यसो गर्दा यात्रीहरूको पाइलामा उर्जा थपिन्छ अनि संकल्प पनि दह्रिलो बन्छ। यस हिसाबले उहाँ एक कुशल पथ प्रदर्शक हुनुहुन्छ भन्ने प्रमाणित हुन्छ ।
अन्त्यमा, मैले बुझेको र नबुझेको कुरा
गुरुहजुरको कुरा सुनेर कहिल्यै अघाइँदैन । जति सुन्यो उति सुनूँ–सुनूँ लागिरहन्छ । उहाँका सबै कुरा मननीय हुन्छन् । उहाँको कुरा सुनिरहँदा ज्यानमा उर्जा यति आउँछ कि अहिल्यै नै उठेर काम गर्न हिँडीहालूँ झैं लाग्छ । तर उहाँबाट टाढा हुनासाथ किन गोडा लुलो हुन थालिहाल्छ ? हामी गुरुहजुरलाई सुन्दो मात्र रहेछौं कि कसो ? हाम्रो बुझाइमा गुरुहजुर पनि खालि मीठामीठा कुरा सुनाउने गुरु मात्र त होइन ? असल दर्शनहरू यसरी नै असफल भएका त होइनन् ? हामी फेरि अर्को एउटा असल दर्शन र सच्चा गुरुलाई असफल तुल्याउन त लागिरहेका छैनौं ? पारा यस्तै रहने हो भने त स्वर्गका दूत त के स्वयम् प्रभु नै धर्तीमा झरे पनि हामी सुध्रिनेवाला छैनौं । यी प्रश्नहरूको जवाफ हरेक स्वर्गयात्रीहरूले आफैभित्र खोज्नु पर्छ । मानिसलाई कुराले मात्र कल्याण गर्न नसकेकोले नै गुरुहजुर आउनुभएको हो । उहाँका वचनहरू केवल सुनेर आनन्द लिनका लागि होइनन्, जीवनमा उतार्नका लागि हुन् । उहाँ जसरी समयलाई जितेर काम गर्नुहुन्छ, त्यसको दशांश काम मात्र हरेक यात्रीले गर्ने हो भने पक्कै पनि हेभेन्ली पाथको गन्तव्य छोटिने छ ।
Source: स्वर्गिक सन्देश वर्ष २, अंक ९, १० र ११ Feb-Apr 2007