गुरुहजुरसँग को सङ्गत 2

गुरुहजुरसँग को सङ्गत 2

 

झट्ट हेर्दा हेभेन्ली पाथको दर्शनमा रहेको क्रान्तिचेत खोक्रो आदर्श जस्तो मात्र लाग्नसक्छ । तर क्रान्ति सुरु भइसकेको छ र हालसम्म प्राप्त परिणाम निकै उत्साहजनक रहेको छ र यसको क्रान्तिकारितालाई प्रमाणित गर्दै परम्परावादीहरू यसमाथि खनिएका पनि छन् । यदि यसको दर्शन क्रान्तिकारी नहुँदो हो त उनीहरू आक्रोशित हुनुपर्ने कुनै कारणै छैन । तर, हेभेन्ली पाथले चाहेको क्रान्ति शक्ति, सत्ता र प्रसिद्धीका लागि होइन । यसका लौकिक र पारलौकिक दुइवटा स्वार्थ छन्, ती हुन्– सबै मानिसका लागि आनन्दित जीवन र आत्माको मोक्ष । यिनै दुई स्वार्थ पूरा गर्न हेभेन्ली पाथलाई क्रान्तिको आवश्यकता छ जुन निकै कठिन छ । अनि यो क्रान्तिमा जित्नै पर्ने पहिलो र शक्तिशाली किल्ला स्वयम् आफै हो । आफूलाई नजिती यसको क्रान्ति एक पाइला पनि अगाडि बढ्न सक्दैन। विश्वमा सफल भएको मानिएका क्रान्तिहरूको उपलब्धी दिगो रहन नसक्नुको कारण आफू–आफू चाहिँ अपराजित रहनु नै हो । त्यसबाट पाठ सिक्दै हेभेन्ली पाथले एउटा क्रान्ति–नीति नै तयार गरेको छ, त्यो हो– खराबहरूका विरुद्ध होइन, खराबीहरूका विरुद्ध लडौं। यही नीति अपनाई सुरु गरिएको यो महान् क्रान्तिको नेतृत्त्व स्वयम् सुप्रिम मास्टर गडएञ्जलज्यूले गरिरहनुभएको छ । लाखौं यात्रीहरू उहाँको पछि लागेका छन् । परम प्रभुकै योजनाअनुसार यो क्रान्ति सुरु भएको हुनाले यसको जीत पनि पक्का छ ।

 

बलिदानका कुरा

कुराकानीको क्रममा गुरुहजुरले पटकपटक उच्चारण गर्नुभएको शब्द Sacrifice अर्थात् बलिदान पनि हो । बलिप्रथाको दोष औंल्याउने गुरुहजुरको ओंठमा झुण्डिएको बलिदानको अर्थ निकै गहन छ । यही शब्दको प्रयोग गरेर उहाँ स्वर्गयात्रीहरूको प्रशंसा पनि गर्नुहुन्छ । उहाँ सबैलाई बलिदानी गर्न प्रेरित पनि गरिरहनुहुन्छ । तर उहाँले चाहनुभएको बलिदान भौतिक शरीरको भने होइन । उहाँ सबै स्वर्गयात्रीहरूले समर्पित र त्यागी भावनाका साथ हेभेन्ली पाथमा योगदान गरुन् भन्ने चाहनुहुन्छ । एक्लो र सानोतिनो प्रयासले हेभेन्ली पाथको उद्देश्य पूरा नहुने भएकोले उहाँ सबैबाट सक्दो योगदान होस् भन्ने चाहनुहुन्छ। धर्मधारण मानिसहरूले जुन रूपमा गर्छन् त्यो स्तरको आस्था र समर्पणले हेभेन्ली पाथमा काम चल्दैन किनभने धर्मावलम्बीहरूले धर्म खालि आफ्नो लागि मान्छन् तर स्वर्गयात्रा त अरुको लागि पनि हो । त्यसैले, स्वर्गयात्राका लागि उहाँले जसरी बलिदानी दिनुभएको छ,अरू यात्रीहरूबाट पनि उहाँ सोही चाहनुहुन्छ । अर्को अर्थमा हाल यात्रीहरूले स्वर्गयात्राका लागि जति काम गरिरहेका छन्, त्यसभन्दा बढी कामको अपेक्षा उहाँले गरिरहनुभएको छ । हेभेन्ली पाथलाई क्रान्तिकै रूपमा अगाडि बढाउने उहाँका योजना रहेकोले एक जिम्मेवार अगुवाको रूपमा यात्रीहरूबाट बलिदानको अपेक्षा गर्नु अन्यथा पनि हुँदैन ।

 

सम्मानका कुरा

‘हमारा राज यहाँका नहीं, वहाँका है’ भन्ने हिन्दी वाक्य पनि उहाँ घरिघरि प्रयोग गर्नुहुन्छ । व्याख्यासहित यसको नेपाली उल्था पनि उहाँ गर्नुहुन्छ– ‘हामीले यहाँ सम्मान खोज्नुहुँदैन, हाम्रो हरेक कामको हिसाबकिताब प्रभुको खातामा लेखिन्छ । त्यही अनुसार उहाँले हामीलाई इनाम दिनुहुनेछ ।’सानो काम गरेवापत ठूलो सम्मान खोज्ने हाम्रो बानी स्वर्गयात्राका लागि बाधक छ भन्ने ज्ञान उहाँको यस भनाइबाट लिन सकिन्छ । वास्तवमा मुक्ति र मोक्षको सन्देश बाँडेर हिँड्नेहरू सम्मानको भोको हुनु हुँदैन । त्यसले यात्रालाई बोझिलो त पार्छ नै, लक्ष्यसम्म पुग्न पनि दिँदैन । सम्मानले अहमलाई जगाउँछ अनि अहमले नम्रतालाई खर्लप्पै निलिदिन्छ । नम्रता नै नरहेपछि स्वर्गयात्री कहलाउने हक पनि गुम्छ । गुरुहजुरको जीवनशैलीले त्यस्तै सन्देश दिइरहेको हुन्छ । उहाँ सबैसँग सम्मानपूर्वक व्यवहार गर्नुहुन्छ तर आफू कहिल्यै पनि सम्मान खोज्नुहुन्न । सामान्य व्यक्तिसँग पनि उत्तिकै आत्मीयतापूर्वक कुरा गर्नुहुन्छ । अन्य धर्मगुरुहरूलाई गरिए जस्तो सम्मान उहाँ कहिल्यै चाहनुहुन्न । यसरी उहाँ स्वयम् सम्मान खोज्नुहुन्न भने अरू यात्रीहरूले सम्मान खोजेर स्वर्गयात्राको गतिलाई अवरोध पुर्‍यायाएको पनि उहाँ पक्कै रुचाउनुहुन्न।

 

 

Source:  स्वर्गिक सन्देश वर्ष २, अंक ९, १० र ११  Feb-Apr 2007