- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
गुरुहजुरसँग को सङ्गत 1
गुरुहजुरसँग को सङ्गत 1
-Angel Kiran
जापानबाट फर्कनु भएपछि गुरुहजुरसँग धेरै पटक सङ्गत गर्ने अवसर पाइयो । उहाँसँगको सामीप्य कुनै न कुनै रूपमा फलदायी नै हुने गर्छ, त्यसैले अलि हच्कँदै भए पनि उहाँको सङ्गत गर्ने साहस गरियो। उहाँका हरेक वचनले ह्दयको कुनै न कुनै तारलाई छोएकै हुन्छ । उहाँको क्रियाकलापहरूमा गहन दर्शन चल्मलाइरहेको हुन्छअनि उहाँको व्यस्तताले हामीमा रहेको आलसी प्रवृत्तिलाई ब्यङ्ग्य गरिरहेको हुन्छ । त्यसैले त उहाँ सम्पूर्ण अर्थमा वास्तविक गुरु हुनुहुन्छ । तर,उहाँको गुरुत्व मानिसलाई पण्डित बनाउने किसिमको होइन, पूर्ण मान्छे बनाउने किसिमको छ। यसपटक उहाँसँग केही रमाइला हँस्यौलीसँगै स्वर्गयात्राबारे निकै गम्भीर कुराकानीहरू पनि भए । ती कुराकानीहरू निकै अर्थपूर्ण थिए तर आफैभित्र गुम्स्याएर राख्ने खालका थिएनन् । सबैसँग बाँड्दा ती कुराकानीहरूको महत्त्व झन् बढ्ने हुँदा यहाँ सोही प्रयत्न गरिएको छ ।
क्रान्तिका कुरा
“हामी मिलेर अब एउटा क्रान्ति नै गरौं न सर !” यो प्रस्ताव गुरुहजुरले जापान प्रस्थान गर्नु एकदिनअघि राति मसँग राख्नुभएको हो । अत्यन्त नम्र लवजमा प्रस्तुत गर्नुभएको यो जोशिलो वाक्यले मलाई केही क्षण रोमाञ्चित तुल्यायो । म आफू पनि क्रान्तिको कुरा गर्न (सायद काम गर्न चाहिँ होइन) मन पराउने हुनाले उहाँको कुराले मभित्रको क्रान्तिचेत सल्बलाउन थाल्यो । हो त नि,संसार बदल्न क्रान्ति त गर्नैपर्छ । गुरुहजुरको प्रस्तावको समर्थन गर्न मैले शब्द त खर्च गरिन, केवल अनुहारको भावबाटै काम चलाएँ। तर हेभेन्ली पाथबाट कसरी क्रान्ति गर्न सकिन्छ र त्यसको स्वरूप कस्तो हुन्छ भन्नेबारे कुनै स्पष्ट खाका भने मेरो मष्तिस्कमा तत्कालै बन्न सकेन र अझै पनि बन्न सकेको छैन ।
क्रान्तिको सामान्य बुझाइ हतियारबन्द युद्धबाट सत्ता वा शक्तिको प्राप्ति हो । अनि यसलाई खालि राजनीतिक अर्थमा मात्र बुझ्ने चलन पनि छ । क्रान्ति भन्ने शब्दलाई आजसम्म राजनीतिज्ञ र राजनीतिक कार्यकर्ताहरूले मात्र एकलौटी रूपमा प्रयोग गर्दै आएको हुनाले यसबारेको आमबुझाइ साँघुरो हुनु अस्वाभाविक पनि होइन। राजनीतिमा पनि यसको बढी प्रयोग हिंसात्मक राजनीतिमा विश्वास गर्ने पार्टीहरूले गरेको हुनाले क्रान्ति भन्नासाथ युद्ध, झडप, नरसंहार, ध्वंस आदिको विद्रुप चित्र मष्तिस्कमा आउने गर्छ । तर, क्रान्तिको वास्तविक अर्थ त विद्यमान अवस्था जुन मानव समाजको हितमा छैन,त्यसमा आमूल परिवर्तन आउनु हो । अनि, परिवर्तन राजनीतिमा मात्र चाहिने कुरा होइन । मानव जीवनसँग सम्बन्धित सबै क्षेत्रमा परिवर्तनको आवश्यकता पर्दछ। यस प्रकार क्रान्ति, राजनीतिक क्षेत्रको पेवा शब्द होइन भन्ने स्पष्ट हुन्छ । यसलाई मानव–हितको पक्षमा चिन्तन गर्ने, काम गर्ने व्यक्ति,समूह, संस्था वा संगठन सबैले प्रयोग गर्न पाउँछन् ।
हेभेन्ली पाथको दर्शनलाई क्रान्तिको वास्तविक अर्थको कसीमा राखेर हेर्ने हो भने यो जतिको क्रान्तिकारी दर्शन विश्वमा जन्मेकै थिएन भन्न सकिन्छ । यस दर्शनले ईश्वरप्रतिको आस्था र विश्वासमा क्रान्ति खोजेको छ । धर्म र धर्मशास्त्रप्रतिको बुझाइमा क्रान्ति चाहेको छ । त्यसै गरी यसले संस्कार–संस्कृति, सामाजिक सम्बन्ध र जीवनको अर्थमा क्रान्ति खोजेको छ । त्यति मात्र होइन यसले प्रेम, युद्ध, शान्ति, मुक्ति र मोक्षको अर्थमा पनि क्रान्ति नै चाहेको छ । समग्रमा यस दर्शनले व्यक्तिगत एवम् सामाजिक जीवनको सम्पूर्ण पाटोमा क्रान्तिको आवश्यकता देखेको छ, त्यो पनि विनायुद्ध,विनाहिंसा । विना युद्ध क्रान्ति गर्न खोज्नु त झन् आफैमा ठूलो क्रान्ति हो किनकि अहिलेसम्म यस्तो क्रान्ति भएकै छैन । यसर्थ, हेभेन्ली पाथलाई ‘युद्ध नगरी क्रान्ति गरेर देखाऊ’ भनेर वर्तमान विश्वमानवसमक्ष राखिएको चुनौतिपूर्ण प्रस्तावको रूपमा पनि बुझ्न सकिन्छ ।
Source: स्वर्गिक सन्देश वर्ष २, अंक ९, १० र ११ Feb-Apr 2007